काठमाडौं । सत्तारुढ पार्टी नेकपा (एमाले) भित्रको अन्तरविरोध समाधान गर्नका लागि एमालेको कार्यदल बैठक आज पनि बस्ने भएको छ । केही समयदेखि पार्टीभित्र देखिएको समस्या समाधान गर्न सक्रिय कार्यदलको सोमबारको बैठकबाट ठोस समाधान निकाल्न नसकेपछि आज पुनः छलफल हुने बताइएको छ ।
सोमबारको बैठकमा पहिले भएका अनौपचारिक औपचारिक छलफलका विषयहरुबारे छलफल हुनुका साथै पार्टीमा सहमतिको वातावरण कसरी बनाउन सकिन्छ भन्नेमा बैठक सकारात्मक रुपमा केन्द्रित भएको माधवकुमार नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिनुभयो । सोमबारको वार्ता सकारात्मक भएको र आज फेरि १ बजे बैठक बस्ने उहाँले बताउनुभयो । त्यस्तै नेपालपक्षकै नेता भीम रावलले बैठक नियमित रुपमा अघि बढाउने निर्णय गरेको बताउनुभयो । उहाँले हिजो कुनै विषयमा प्रवेश नगरेको र एमालेका आन्तरिक समस्याका बारेमा गम्भीर छलफल गरेर जानेबारे सहमति भएको बताउनुभयो । बैठकमा सहभागी नेताहरुले आजको बैठकले सहमतिको ठोस निष्कर्ष निकाल्ने बताउनुभएको छ ।
पार्टीको कार्यदलमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली पक्षबाट नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णु रिमाल हुनुहुन्छ भने नेता नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त, घनश्याम भुषाल रहनुभएको छ ।