काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित पार्टीका २३ सांसदले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अन्तिम म्याद आज सकिने भएको छ । अध्यक्ष ओलीले आज बेलुका ५ बजेसम्म नेपाललगायतका नेताहरुलाई हस्ताक्षर फिर्ता गर्न समय तोक्नुभएको हो ।
अध्यक्ष ओलीको अध्यक्षतामा गत शुक्रबार बसेको केन्द्रीय समिति बैठकले असार २१ गते सोमबार बेलुका ५ बजेसम्मको अल्टिमेटम दिँदै त्यो बेलासम्म हस्ताक्षर फिर्ता नलिए नेपाललगायतका नेताहरु एमाले नै नरहने चेतावनी दिएको थियो ।
बैठकले दिएको अल्टिमेटममा नेपाल पक्षले हस्ताक्षर फिर्ता नगर्ने जवाफ दिएकाले एमालेभित्रको विवाद थप जटिल र नयाँ मोडमा प्रवेश गर्ने सम्भावना देखिएको छ । एमाले केन्द्रीय समितिले अब माधव नेपालसहितका हस्ताक्षर गर्ने नेताहरुलाई कारवाही गर्ने संकेत देखिएको छ ।
यसबीचमा पार्टी एकताका लागि दोस्रो तहका नेताहरुले अध्यक्ष ओली र नेपालको संयुक्त हस्ताक्षरित विज्ञप्ति निकाल्न हरसम्भव प्रयास गर्नुभएको थियो तर नेता नेपालको गलत अडानका कारण त्यो प्रयास सफल हुन सकेन ।
आइतबार बिहान एमाले नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल नेता नेपाल निवास कोटेश्वर पुगेर संयुक्त विज्ञप्तिका लागि आग्रह गर्नुभएको थियो । उहाँहरुको आग्रहलाई नेता नेपालले सकारात्मक रुपमा लिए पनि उहाँले नेताहरुबीच भएको सहमतिको मस्यौदा ल्याउन र कार्यदल व्युँत्याउनुपर्ने जस्ता उल्झन थापेर सहमतिमा आउन तयार हुनुभएन ।
केन्द्रीय समितिका नेताहरु नेता नेपाललाई मनाउन पटक-पटक नेता नेपालको निवासमा जानुभए पनि कुनै पनि प्रयास सफल हुन सकेका छैनन् ।
उता उपमहासचिव बिष्णु पौडेलले प्रधानमन्त्री ओलीलाई भेटेर सम्पुर्ण समस्याको समाधान खोजिने भने पनि माधव नेपालले प्रधानमन्त्रीलाई भेट्न नचाहेको बताउनुभयो । एमाले नेता बामदेव गौतमले पनि एकअर्काको रिसकै कारण सहमति हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओली जीसँग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनु भएको छ । यी दुईटाको रिस नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको पनि चिन्ताले काम लाग्नेवाला छैन । म यी दुईटैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ हो, त्यतातिर लागिरहेको छु ।’
पार्टी एकताकै लागि एमाले उपाध्यक्ष भीम रावल पनि नेताहरुसँग गम्भिर छलफलमा हुनुहुन्छ । शनिबार राति करिब दुई घण्टा प्रधानमन्त्रीसँग भेट्नुभएका एमाले उपाध्यक्ष भीम रावल पनि पार्टीमा सहमति खोज्ने विषयमा सकारात्मक देखिनुभएको छ । एमाले सचिव भीम आचार्य पार्टीमा करिब सहमति भइसके पनि नेताहरुको इगोका कारण कार्यान्वयन हुन नसकेको बताउनुहुन्छ । ‘माधव कमरेड प्रधानमन्त्रीसँग भेट्नै नमान्ने, प्रधानमन्त्री पार्टी बैठक गरेर निर्णय गर्दै जाने समस्या यहीं भएको हो,’ आचार्यले भन्नुभयो, ‘संसद विघटन र हस्ताक्षरको कुरा उपयुक्त समयमा समिक्षा गरौंला तर अहिले भविष्यका कुरा गरेर अघि बढौं भन्ने हाम्रो मान्यता हो ।’ उहाँले भन्नुभयो ।