काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले मनसुनजन्य प्रकोपबाट परी क्षति भएका घरको पुनर्निर्माण सरकारले गरिदिने बताउनुभएको छ । विपद प्रभावित निजी अवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ बमोजिम क्षति पुगेका आवासको पुनर्निर्माण गरिने उहाँले बताउनुभयो ।
राष्ट्रियसभाको बैठकमा बोल्दै पौडेलले मनसुनजन्य घटनाबाट ५ सय ५ निजी घर पूर्णरुपमा क्षति भएको जानकारी दिनुभयो । उहाँले ३६ सरकारी कार्यालय, ९ विद्यालय तथा सामुदायिक भवन, १५ वटा पक्की मोटरेवल पुल, २३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको बताउनुभयो ।
मेलम्ची खानेपानी आयोजनामा जाने सडकमा क्षति पुगेकाले २ वटा बेलिब्रीज राख्ने तयारी गरिएको उहाँले राष्ट्रिय सभामा जानकारी दिनुभयो ।
बाढी पहिरोले देशभर ४२ वटा खानेपानी आयोजनामा र २५ जलविद्युत आयोजनामा आंसिक क्षति पुगेको बताउनुभयो । गत वर्षको प्राकृतिक प्रकोपमा क्षति भएका ३९४९ परिवालाई प्रतिपरिवार पहिलो किस्ताबापत ५० हजार अनुदान रकम प्रदान गरिएको जानकारी उहाँले गराउनुभयो ।
यस वर्ष क्षति भएका ५७२ घर परिवारका लागि तत्काल अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजार जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराउने प्रक्रिया अगाडि बढिसकेको उहाँले बताउनुभयो ।