काठमाडौं । नेकपा एमाले नेता माधव कुमार नेपाललाई मनाउनका लागि दोस्रो तहका नेताहरु सक्रिय हुनुभएको छ । सोही क्रममा दोस्रो तहका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने प्रयास थाल्नुभएको छ ।
दुवै नेताहरु आ–आफ्नो अडानमा रहँदा पार्टी फुटतर्फ उन्मुख भएपछि दोस्रो तहका नेताहरुले सम्वाद गराउन प्रयास थाल्नुभएको हो । आइतबार विहान प्रधानमन्त्री ओली पक्षका नेताहरु सुवास नेम्बाङ, विष्णु पौडेल र शंकर पोखरेल नेता नेपालको निवास पुग्नुभएको थियो । सो अवसरमा नेपाल पक्षका नेता घनश्याम भुसाल पनि उपस्थित हुनुहुन्थ्यो ।
ओली पक्षका नेताहरूले असन्तुष्ट नेता माधवकुमार नेपाललाई भेटेर शेरबहादुर देउवाका पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन अनुरोध गर्नुभएको छ । यसका साथै उहाँहरुले नेता नेपाललाई अध्यक्ष ओलीसँग भेटेर कुरा गर्न आग्रह गर्नुभयो । माधवकुमार नेपाल समूहका नेता घनश्याम भुसालले शनिबार पनि अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोनमा कुराकानी गराउनुभएको थियो । तर त्यसले कुनै सहमति भएको छैन ।