काठमाडौँ– नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको प्रधानमन्त्रीविरुद्ध गरिएको हस्ताक्षर फिर्ता नलिए माधवकुमार नेपाल पक्षका नेताहरु एमाले नहुने बताउनुभएको छ । उहाँले संसद विघटनबारे अदालतबाट फैसला आउने बेलासम्म कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन माधव नेपाल पक्षका नेताहरूलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमालेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसलाअघि हस्ताक्षर फिर्ता नलिए हस्ताक्षर गर्नेहरू पार्टीका नेता हुन नसक्ने बताउनुभयो । ‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउन ज–जसको हस्ताक्षर कायम रहन्छ ती पार्टीका कार्यकर्ता हैनन्” उहाँले भन्नुभयो, “त्यसले नै कित्ताकाट गरिसक्यो नि । भ्रम पाल्न आवश्यक छैन ।’ अध्यक्ष ओलीले आफू अहिले पनि पार्टी एकताको पक्षमा रहेको बताउँदै एकताका लागि आह्वान गरिरहेको धारणा राख्नुभयो । उहाँले अगाडि भन्नुभयो, ‘हामी अहिले पनि एकताको पक्षमा छौँ । एकताका लागि आह्वान गरिरहेका छौँ । कुरा गरिरहेका छौँ ।’ अध्यक्ष ओलीले पार्टी जेठ २ मा फर्किसकेको जानकारी गराउँदै अब जो आउँदैन उसलाई नपर्खिने बताउनुभयो ।
उहाँले भन्नुभयो “हामी जेठ २ मा फर्कियौं, त्यो भनेको यही हो । जो आउँदैन, अर्को पार्टीमा जानेलाई पर्खिने होइन । यात्रामा अगाडि पनि साथी भेटिन्छन् ।” पार्टीको पक्षमा बोलिरहेका व्यक्तिमात्रै पार्टीको नेता हुन सक्ने भन्दै उहाँले पार्टीको विरोधमा हिँड्ने र बोल्ने कसरी पार्टीको मान्छे हुन्छ भन्नुभयो ।