काठमाडौं । नेकपा एमालेले साउन २५ देखि २७ गतेसम्म विधान सम्मेलन गर्ने एमाले निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । यसका साथै निर्वाचनसँग जुध्न गए महाधिवेशन वैशाखमा सार्ने प्रस्ताव समेत पेश भएको छ ।
विधान अधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन, विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन र रामबहादुर थापा बादलले व्यवस्थापन प्रतिवेदन लेख्ने निर्णय भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।
असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्द्रीय विभागहरुलाई पूर्णता दिने निर्णय भएको छ । यस्तै भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका बनेको उहाँले बताउनुभयो ।
बैठकमा महासचिव ईश्वर पोखरेलले निर्वाचनको मितिसँग जुध्न गएमा दशौं महाधिवेशन भने आगामी वैशाख मसान्तसम्म गर्ने प्रस्ताव पेश गर्नुभएको छ । यसअघि दशौं राष्ट्रिय महाधिवेशन मंसिर २ देखि ६ सम्म गर्ने निर्णय गरिएको थियो ।