काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको सांगठनिक काम कारबाहीबारे छलफल गर्न आज अपरान्ह ३ बजे बैठक बस्ने जानकारी कार्यालयका सचिव शेरबहादुर तामाङले दिनुभयो ।
सचिव तामाङले भन्नुभयो, ‘माओवादी केन्द्रसँगको एकीकरणपछि संगठनात्मक काम केही भएन । त्यसपछि पनि पार्टीभित्रको अन्तरविरोधका कारण पर्खिने क्रममा केही काम भइरहेको छैन । त्यसैले संगठनका गतिविधि बढाउनेबारे आजको बैठकले निर्णय लिन्छ । स्थानीय पार्टी कमिटी र सदस्यतासम्बन्धी काम अगाडि बढ्छ ।’ आज बस्ने बैठकमा एमालेले यसअघि घोषणा गरेको दसौँ महाधिवेशनको मिति सार्ने उहाँले जानकारी दिनुभयो । आगामी मङ्सिर २ देखि ६ मा हुने भनेको महाधिवेशन समयका कारण सार्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कात्तिक-मङ्सिरमा चुनावको मिति घोषणा भैसकेको र फागुनमा स्थानीय चुनाव गर्नुपर्ने अवस्था छ । हामीले पार्टीको महाधिवेशन पनि गर्नुपर्ने छ । आगामी मङ्सिर २ देखि ६ मा हुने भनिएको महाधिवेशनको मितिबारे शनिबारको बैठकबाट पुनर्विचार हुने सम्भावना छ ।’
महाधिवेशनको मिति आसन्न असोजमा सार्ने कि ०७९ जेठमा लैजाने भन्ने विषयमा छलफल भइरहेको उहाँको भनाइ छ । आजको छलफलमा पनि माधव नेपाल समूहलाई बोलाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘माधव कमरेडसहितका साथीहरुलाई पनि बोलाएका छौं । आउने नआउने उहाँहरुको कुरा हो । उहाँहरु एमालेमै हुनुहुन्छ ।’ आजको बैठकमा नआए पनि ७२ घण्टाभित्र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता नलिए कारबाही हुने तामाङले बताउनुभयो ।