काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । एमालेको १०औं महाधिवेशन आयोजक समितिको हिजो बसेको बैठकले आजका लागि केन्द्रीय समिति बैठक बोलाएको हो ।
आज विहान ११ बजे बैठक बस्ने तयारी भएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको छ । सो बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरिसकेको उहाँले बताउनुभयो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन गरी केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको हो ।
यता, एमालेका नेता माधव नेपाल समूहले भने आजको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने जानकारी गराएको छ । हिजो बुद्धनगरमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको थियो । आज बोलाइएको केन्द्रीय समिति बैठकमा नजाने सर्वसम्मत निर्णय गरेको नेता योगेश भट्टराईले बताउनुभयो । महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्दै २० जना सदस्य थपिएकोमा नेपाल समूहले असन्तुष्टि जनाउँदै आएका थिए । बैठकले केन्द्रीय कमिटीमा सदस्य थप्ने संस्थापनको निर्णय अवैध रहेको भन्दै पुरानै संरचनामा फर्कनुपर्ने अडान राखेको छ । एमाले संस्थापनको बुधबार बसेको बैठकले माओवादी केन्द्र छाडेर एमालेमै रहेकासहित ८ जनालाई स्थायी कमिटीमा र २० जनालाई केन्द्रीय समितिमा थप गरेको थियो ।