काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । हिजो (बिहिबार) बस्ने भनिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै स्थगित भएको थियो । यसका साथै कांग्रेसले पार्टीको क्रियाशील सदस्यतासम्बन्धी मापदण्डबारे शीर्ष तहमा सहमति जुटाउने प्रयास भइरहेको बताएको छ ।
नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज अपराह्न २:०० बजे बस्ने बैठकले क्रियाशील सदस्यतासम्बन्धी विषयको टुङ्गो लगाउने जानकारी दिनुभयो । सो बैठकमा कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीहरुलाई बोलाइएको छ ।
छानबिन समितिका अनुसार पार्टीमा हालसम्म आठ लाख ३० हजारभन्दा बढी सदस्यता प्रवेश भएको छ ।
नेपाली कांग्रेसमा १४औँ महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको छ । पार्टीले क्रियाशील सदस्यता छानविन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति गठन गरिसकेको छ ।