काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकको आह्वान गर्नुभएको छ । आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले रिक्त रहेका ४ सचिवको नियुक्ति गर्ने बताइएको छ । सचिव रिक्त रहेका स्थानमा पदपूर्तिका लागि लोकसेवा आयोगले सहसचिव बढुवाको सिफारिस गरेको छ । आयोगले प्रशासन समूहबाट सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करलाई सिफारिस गरेको छ । उहाँहरुमध्ये एकजना सचिव नियुक्त हुनुहुनेछ ।
यस्तै कृषि तथा वन समूहबाट सहसचिव कृष्णप्रसाद आचार्य, निरु दाहाल र दिपक खराल सिफारिस हुनुभएको छ । इन्जिनियरिङ सेवाबाट प्रमिला बज्राचार्य, सुशीलचन्द तिवारी र गोपालप्रसाद सिग्देल सिफारिसमा पर्नुभएको छ । सो समूहबाट एक–एक जना सचिव बन्नुहुनेछ ।
यता प्रशासन सेवाबाट एक जनामात्र सहसचिव डा दामोदर रेग्मी सिफारिस भएकाले उहाँ सचिव बन्ने पक्का भएको छ । मन्त्रिपरिषदको आज बस्ने नियमित बैठकले मन्त्रालयगत सिफारिसका आधारमा अन्य निर्णयहरु समेत गर्ने बताइएको छ ।