काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको भोलिका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा पार्टीका असन्तुष्ट पक्ष माधव नेपाल पक्षलाई पनि सहभागी गराउन दुवै पक्षका नेताहरु आज बिहानैदेखि छलफलमा व्यस्त बनेका छन् । बुधबार महाधिवेशन आयोजक कमिटी भंग गरी एमालेले २०७५ जेठ २ अघिकै पदाधिकारीको हैसियतमा माधव नेपाल पक्षसहितको बैठक बोलाएको छ ।
केहीबेरमा सुरु हुने माधव नेपाल पक्षको स्थायी कमिटी बैठकमा सहभागी हुन जानुपर्ने भएकोले अहिलेको बैठकको कुरा नटुंगिँदै स्थगित गरेको नेताहरुले जनाएका छन् । संस्थापन पक्षका नेताहरुले बैठकमा नकारात्मक अभिव्यक्ति नदिन माधव नेपाललाई सजग गराउन सम्झाउन आग्रह गरेका छन् । ‘सहमतिको नजिक पुगेका बेला नकारात्मक अभिव्यक्ति दिएर वातावरणलाई नभड्काउन आग्रह गरेका छौं,’ एक नेताले बताउनुभयो । नेपाल पक्षको बैठकले नै पार्टीमा सहमति गर्ने निर्णय गरेर भोलि आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुने अपेक्षा संस्थापन पक्षले गरेको छ ।