काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएको छ । आज बसेको महाधिवेशन आयोजक कमिटीको वैठकले सो निर्णय गरेको हो ।
बैठकका निर्णयबारे पत्रकारलाई जानकारी दिनुहुँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले स्थायी कमिटीमा रहने नेताहरुको हेरफेर भएको बताउनु भएको छ । बैठकले बेदुराम भुषाल, रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, विष्णु रिमाल, रघुवीर महासेठ, रघुजी पन्तलाई स्थायी कमिटीमा थप्ने निर्णय गरेको छ ।
त्यस्तै माधवकुमार नेपाल पक्षका नेताहरुमाथि यसअघि गरिएको कारबाही फुकुवा भएको छ । महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएपछि सबै कारवाही निस्प्रभावी भएको ज्ञवालीले जानकारी दिनुभएको छ । अब पार्टी माओवादीसँग एकता गर्नुपूर्वको अवस्थामा पुगेको बताइएको छ ।
आजको निर्णयपछि अब असन्तुष्ट नेताहरु सबै पार्टी एकताको पक्षमा आउने व्यक्त गर्नुहुँदै नेता ज्ञवालीले शुक्रबार बस्ने बैठक २०७५ जेठ २ को अवस्थामा बस्ने जानकारी दिनुभएको छ ।
त्यस्तै बैठकले नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरेको छ भने उहाँको स्वास्थ्य उपचारमा सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामबारे बैठकलाई जानकारी गराउनुभएको थियो ।
कोभिडका विषयमा सरकारले प्रभावकारी काम गरेको निष्कर्ष निकाल्दै बैठकले सबै नेपालीलाई कोभिड खोप उपलब्ध गराउन सरकारको ध्यानाकर्षण पनि गराएको छ । कोभिडबाट ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
त्यस्तै बाढी पहिरोमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ भने पीडितको पुनर्स्थापनाको काम गर्न पनि बैठकले सरकारसँग आग्रह गरेको छ ।