काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बस्ने सो बैठकबारे कुरा गर्दै एमाले नेता सुबासचन्द्र नेम्बाङले पार्टी एकताका लागि वार्ता र पहलहरु भइरहेको र यो निरन्तर चल्ने जानकारी दिनुभयो । आज बस्ने दशौं महाधिवेशन आयोजक कमिटीको बैठकको सन्दर्भमा पार्टीको आगामी कदमबारे टुंगो लगाउन सकिने नेता नेम्वाङले बताउनुभएको छ । विगतदेखि नै पार्टी एकता नभएसम्म दुवै पक्षबीचमा निरन्तर छलफल र संवाद जारी रहने उहाँले बताउनुभयो ।
यस्तै निवर्तमान मन्त्री एवम् एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले पार्टी एकताका लागि हर सम्भव प्रयास जारी राख्ने बताउनुभयो । पार्टीमा शतप्रतिशत नेता, कार्यकर्ता समेट्ने लक्ष्य रहेको तर शतप्रतिशत नसमेटिए पनि अधिकतम् नेताहरु समेट्दै पाटी अघि बढ्ने उहाँले बताउनुभयो ।
पार्टीको आगामी बैठक र कदमहरुबारे दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले नै तय गर्ने उहाँको भनाइ छ । नेपाल पक्षले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र आफ्नै पार्टीको बहुमतको सरकारलाई हराउने जस्ता पार्टीको विधानविपरीतका कामहरु प्रदेश सरकारहरुमा समेत फ्लोर क्रस गराउनेसम्मका कामहरु हुँदा समेत पार्टी अध्यक्ष ओलीले हदैसम्मको लचकता अपनाएर पार्टी एकता जोगाउन खोजेको तामाङले बताउनुभयो । पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले स्थायी कमिटी बैठकले पुरानो केन्द्रीय समिति ब्यूँताउने निर्णय लिएको जानकारी दिनुभयो । २०७५ जेठ २ कै संरचनामा पार्टीलाई फर्काउँदै असार १८ गते केन्द्रीय कमिटीको बैठक डाकिएको छ । सो बैठकमा तत्कालीन सबै केन्द्रीय सदस्यलाई बोलाउने जनाइएको छ ।
पार्टी एकताका लागि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका युवा पुस्ताका नेता तथा कार्यकर्ताले निरन्तर छलफल, संवाद र प्रयास गर्दै आउनुभएको छ ।