काठमाडौँ । क्यानडामा अत्यधिक गर्मीका कारण ६० भन्दा बढीको ज्यान गएको छ । क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढिरहँदा सो संख्यामा मानिसहरूको मृत्यु भएको बताइएको छ । ब्रिटिस कोलम्बियास्थित प्रहरीका अनुसार सोमबारयता ज्यान गुमाउनेको सङ्ख्या ६० नाघेको र त्यसमा ज्येष्ठ नागरिकहरू धेरै रहेका छन् ।
बिबिसीले जनाएअनुसार उक्त क्षेत्रमा गर्मी बढेकाले धेरै मानिसहरूको मृत्यु भएको बताइएको छ । ब्रिटिस कोलम्बियास्थित लिटनमा आइतबारको तापक्रम ४६.६ डिग्री सेल्सियस थियो भने सोमवार बढेर ४७.९ डिग्री सेल्सियस पुगेको बताइएको छ । यसअघि क्यानडामा कहिल्यै पनि ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको थिएन ।
भ्यानकुभरको बाहिरी बस्ती रहेको बर्नेबीमा रहेका रोयल क्यानेडियन माउन्टेड प्रहरी माइक कलान्जले आफ्ना छिमेकी, परिवारका सदस्य, ज्येष्ठ नागरिकको अवस्थाबारे खोज्न आह्वान गर्नुभएको छ । ‘यो मौसमका कारण हाम्रो समुदायमा जोखिममा रहेका सदस्यहरूलाई घातक हुनसक्ने हामीले देखिरहेका छौँ, खासगरी ज्येष्ठ नागरिक र पहिला नै स्वास्थ्य समस्या भएकाहरू बढी जोखिममा छन् । यस्तो अति गर्मीका बेला हामीले एकअर्काबारे बुझ्नु अति आवश्यक छ,’ उहाँले बताउनुभयो ।
बर्नेबीमा मात्रै प्रहरीले एक्कासि मृत्यु भएका २५ वटा घटनामा प्रतिक्रिया जनाएको बताएको छ र त्यसमा धेरैजसो निवृत्तिभरण पाइसकेका मानिसहरू रहेका छन् । ग्लोब र मेल पत्रिकाले जनाएअनुसार ब्रिटिस कोलम्बियाका प्यारामेडिकहरूले आइतबार तापक्रम बढ्दा समस्या भएको भन्दै एक सयभन्दा बढी मानिसले फोन गरेर मद्दत मागेका छन् । इन्भाइरोन्मेन्ट क्यानडाले बढ्दो तापक्रमबारे ब्रिटिस कोलम्बिया र अल्बेर्टालाई चेतावनीसहितको सूचना जारी गरेको छ । त्यसबाहेकका उत्तर पश्चिमी भू-भागलाई पनि सूचना जारी गरिएको छ।
त्यस्तै अमेरिकाको पोर्टल्याण्ड र सियाटलमा तापक्रम बढी छ। सन् १९४० यता त्यहाँ सबैभन्दा बढी तापक्रम पुगेको छ । अमेरिकाको न्याश्नल वेदर सर्भिसका अनुसार ओरेगनको पोर्टल्याण्डमा तापक्रम ४६.१ डिग्री सेल्सियस पुगेको छ भने सियाटलमा ४२.२ पुगेको छ । गर्मी यति बढी छ कि तारहरू पग्लिएका छन् र त्यसै कारण आइतबार धेरै सेवाहरु बन्द गरिएको थियो । सियाटलका एक बासिन्दाका अनुसार वासिङ्टनस्थित सहरको मौसम मरुभूमिजस्तै बनेको छ । मौसमविज्ञहरूले जलवायु परिवर्तनका कारण अति गर्मी वा अति जाडो हुने क्रम बढ्ने बताएका छन् । यद्यपि कुनै एउटा घटनालाई विश्वव्यापी तापमान वृद्धिसँग जोड्न भने जटिल रहेको उनीहरूले बताए ।

























