काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको स्पष्ट पार्नु भएको छ । माधव नेपालले केही दिनअघि आफूलाई ओलीबाट प्रधानमन्त्रीका लागि अफर आएको दावी गर्दै तर गठवन्धनलाई धोका नदिने बताउनु भएको थियो । नेता नेपालको सो भनाइलाई अध्यक्ष तथा प्रधानमन्त्री ओलीले झुटको खेती भन्नु भएको छ ।
बालुवाटारमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो – “तपाईंहरूले दुई–तीन दिन अघिदेखि सुन्नुभयो होला । मैले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ अरे । म यो मान्दिनँ अरे । मेरो शेरबहादुर देउवाप्रति यति निष्ठा छ, देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु । देशलाई धोका दिन्छु । जनतालाई धोका दिन्छु । तर, देउवालाई धोका दिन सक्दिनँ । यसो भनिरहेका छन् ।”
माधव नेपाल भोलि शेरबहादुर देउवाको पार्टी पनि ज्वाइन गर्न सक्ने, प्रचण्डको पार्टी त ज्वाइन गर्नु नै छ भन्दै अध्यक्ष ओलीले उनको गन्तव्य त्यही भएको बताउनु भयो । माधव नेपाल भनेको प्रचण्डको मामुली कार्यकता भएको बताउँदै ओलीले भन्नुभयो “केपी ओलीले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो रे, अध्यक्षको अफर गर्यो रे । मलाई बहुला कुकुरले टोकेको छ र कोही मान्छे नपाएर प्रचण्डका पुच्छर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव राख्न ?”
नेता नेपाललाई ‘लाजशरम पचेको मान्छे’को संज्ञा दिँदै अध्यक्ष ओलीले भन्नुभयो –“यतिसम्म पनि मान्छे पतन हुँदा रहेछन् । एमाले ध्वस्त बनाउने, अनुशासनहिन काम गर्ने माधव नेपाल जति यति अराजक, अनुशासनहिन, इमान नभएको मान्छे दुनियाँको लोकतान्त्रिक इतिहासमा कोही छैन । आफ्नो पार्टीको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्कोतिर लाग्ने तर एमालेको वरिष्ठ नेता हुँ भन्दै चर्चा कमाउने । उहाँले राजीनामा दिनुपर्दैन ? यस्तो लाजशरम पचेको मान्छे ।”
एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले प्रचण्डपथ अंगालेको आरोप पनि लगाउनु भएको छ । उहाँले भन्नुभयो “नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेपछि नेपाली कांग्रेसका नेताहरु नै नाथुराम गोड्से खोजी गर्ने, भेटिएन भने आँफै हुने तहमा पुगेको भनेको प्रचण्डपथ नै अंगालेको हो ।” उहाँले थप्नु भयो “त्यसै त अराजनीतिक अस्थिरताको प्रतिनिधि, देश कता जान्छ मतलव छैन, त्यो कुरामा पुग्नु भनेको प्रचण्डपथ नै अँगालेको हो ।”
ओलीले प्रचण्डपथको चर्चा अदालतमा समेत हुन थालेको र त्यसबारे अदालत मौन बस्नु आश्चर्यजनक रहेको गुनासो गर्दै भन्नुभयो “नेपाली कांग्रेसले अंगालेपछि प्रचण्डपथ यति व्याप्त भइसक्यो, त्यसलाई कांग्रेसले मार्गदर्शक सिद्धान्त बनाएपछि अहिले प्रचण्डपथ सुप्रिम कोर्टमा पनि चर्चा हुन्छ, ‘फ्रान्स र बेलायतका राजाहरु किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेजस्तै गर्दा रहेछन् र पो काटिँदा रहेछन् । अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ ।’ सर्वाेच्च अदालतमै पुष्पकमल दाहाल प्रचण्डका एकजना कार्यकर्ताले भनेका छन् ।”
ओलीले नेपाली कांग्रेसका कार्यकर्ताले नाथुराम गोड्से आँफै बन्छु भनेको र फ्रान्स र बेलायतमा किन काटिए भन्ने प्रसंग सर्वाेच्च अदालतमा आएको र हिंसालाई दुरुत्साहन गर्ने वक्तव्य दिँदा न्यायाधीशबाट रोक्ने काम नगरेकोमा आश्चर्य व्यक्त गर्नु भएको छ । न्यायमुर्तीहरुले त्यस्तो अभिव्यक्ति दिने अधिवक्तालाई रोक्नुपर्ने उहाँको तर्क छ ।