काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको आज ७०औँ जन्मजयन्ती मनाउने कार्यक्रम रहेको छ । यस अवसरमा मदन भण्डारी फाउन्डेशनले प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गर्दै छ । सो कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका बनाइएको छ ।
भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले विविध सचेतनामूलक कार्यक्रमहरुको आयोजना प्रत्येक वर्ष गर्दै आएको छ । नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा परी निधन भएको थियो । मदन भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो । कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक बाटोमा अग्रसर गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याउनुभएका भण्डारीको नेपाल र नेपाली जनताको उन्नति प्रगति र विकासमा महत्वपूर्ण योगदान रहेको छ । उहाँले देखाएको राजनीतिक चरित्र अहिलेका राजनीतिक दलका नेताहरुले अवलम्बन गरे मुलुकले विकासको काँचुली फेर्नेमा दुईमत छैन ।