काठमडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरुले विदेशीका लागि कम्फर्टेबल सरकार बनाउन खोजेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल मार्फत अध्यक्ष थापाले कांग्रेस, माओवादी, एमालेको माधव समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी गठवन्धनले गर्दै आएका गतिविधि प्रजातन्त्र र संविधानलाई बलियो बनाउन चाहना नभई बिदेशीलाई कम्फर्टेबल सरकार बनाई भ्रष्टाचार, सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृङ्खला चलाउन भएको दावी गरेका छन् ।
हालको अस्थिरता र संकट समाधानको सहज, प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव भएको दावी गर्दै अध्यक्ष थापाले विद्यमान चुनाव प्रणालीको कारण साधारणतया एउटै दलले पूर्ण बहुमत पाउने सम्भावना कम रहेको बताएका छन् । उनले संविधानको धारा ७६ (५)लाई निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर कायम भयो भने भविष्यमा फ्लोरक्रस, पार्टी विभाजन, अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले लेखेका छन् “हालको अस्थिरता र संकट समाधानको सहज, प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव हो । प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले प्रजातन्त्र र संविधानलाई बलियो बनाउन होईन, बिदेशीलाई ‘कम्फर्टेबल’ सरकार बनाई भ्रष्टाचार, सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृङ्खला चलाउन खोजेका छन् ।
विद्यमान चुनाव प्रणालीको कारण साधारणतया एउटै दलले पूर्ण बहुमत पाउने संभावना कम छ। त्यस अवस्थामा संविधानको धारा ७६(५)लाई निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर कायम भयो भने भविष्यमा ‘फ्लोरक्रस’, पार्टी विभाजन, अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुनेछ। के संविधानको आशय त्यही हो ?”