काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी एकता जोगाउन प्रयत्नशील रहेको बताउनुभएको छ । उहाँले पार्टी एकता हुनेमा आशा कायमै रहेको बताउनुभयो ।
आइतबार स्थायी समितिको बैठकपछि प्रवक्ता ज्ञवालीले केही नेताहरु विपक्षीलाई काँधमा राखेर उहाँहरुलाई शक्तिशाली बनाउने प्रयासमा लागे पनि धेरै नेता कार्यकर्ता एमाले एकताकै पक्षमा रहेकाले प्रयत्न र प्रयास जारी राखिएको बताउनुभयो ।
‘एकतालाई मध्यनजर गरेर अध्यक्ष केपी शर्मा ओलीले गत जेठ २३ गते आह्वान गर्नुभएको छ । त्यसैमा आधारित भएर अहिले छलफलहरु जारी छन्’, प्रवक्ता ज्ञवालीले भन्नुभयो । उहाँले कतिपय नेताका व्यवहार एकतासँग मेल नखाने खालका भएको भन्दै त्यसले एमालेलाई जोगाउन नसक्ने बताउनुभयो ।
‘सीमित नेताहरुको यस्तो चाहना होला । तर, देशैभरका कार्यकर्ता र जनताको चाहना, स्थिरता र स्थायित्वका पक्षधर कसैको पनि चाहना एमाले विभाजनको चाहना होइन । त्यसो भएर जनताको चाहनासँग उहाँहरुका क्रियाकलाप मेल खाएका छैनन्’, उहाँले भन्नुभयो, ‘हामी एकता जोगाउन प्रयत्नशील छौँ, आशा मारेका छैनौं । तर अब नेताहरु के गर्नुहुन्छ आन्दोलन र व्यक्तिगत जीवनलाई कसरी लानुहुन्छ यो भविष्यले निर्धारण गर्ला ।’
सो बैठकमा गत जेठ २७ गते सर्वोच्चले गरेको फैसलाका बारेमा समेत छलफल भएको छ ।
बैठकले जेठ २७ को फैसला त्रुटिपूर्ण भए पनि मानेर नै चलेको भन्दै कानुनभन्दा बाहिर गएर गएको फैसला नटिक्ने एमालेको ठहर छ । एमालेले पार्टी नेताहरुलाई गरेको कारबाही बाध्यात्मक परिस्थितिमा गरेको भन्दै त्यसबारे कुनै निर्णय गर्नुपरेको खण्डमा गर्न सकिने प्रवक्ता ज्ञवालीले बताउनुभयो ।