काठमाडौं । गण्डकी प्रदेशको मन्त्रिमण्डलको कार्यविभाजन गरिएको छ । यससँगै सरकारमा सहभागी मन्त्रीहरुले आफ्नो मन्त्रालय सम्हाल्नुहुनेछ । जेठ २९ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित ५ जनाले विना विभागीय मन्त्रीको रुपमा शपथ लिनुभएको थियो ।
प्रदेशस्तरका दलहरुबीच सहमति भएअनुसार नेपाली कांग्रेसबाट सरकारमा सहभागी कुमार खड्काले समाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यसअघि उहाँले अर्थ वा भौतिक विकास मन्त्रालयमा दाबी गर्नुभएको थियो ।
त्यसैगरी माओवादी केन्द्रबाट मन्त्री बन्नुभएकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने हुनुभएको छ । जनता समाजवादी पार्टीका हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ । यसअघि आचार्यसँग मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले अर्थमन्त्रालय दिने गरी सहमति भएको थियो ।
यसैगरी स्वतन्त्र सांसद दीपक मनाङेले यसअघि सम्हालेको युवा तथा खेलकुद मन्त्रालयकै जिम्मेवारी पाउनुभएको छ । उक्त जिम्मेवादी दिइएको जानकारी प्रदेश प्रमुखलाई दिने तयारी भइरहेको प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशमा ११ मन्त्रालय रहेका छन् । अझै ६ मन्त्रालयमा मन्त्री नियुक्ति गर्न बाँकी रहेको छ । अर्थ, भौतिक पूर्वाधार, आन्तरिक मामिला तथा कानुन, कृषि, पर्यटनलगायतका मन्त्रालय भने मुख्यमन्त्री पोखरेलले आफूसँगै राख्नुभएको छ ।
जेठ २९ गते गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसदको गठबन्धनले सरकार बनेको थियो ।