काठमाडौं । मन्त्री वसन्त कुमार नेम्वाङ्गले थपिएको मन्त्रालयमा आज पदभार ग्रहण गर्नु भएको छ । शहरी विकास मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले न्यायपालिकाको स्वतन्त्रतालाई सरकारले पुर्ण रुपमा सम्मान गर्ने बताउनु भएको छ ।
संसद विघटनका सम्बन्धमा न्यायपालिकाले गर्ने निर्णयलाई स्वीकार गर्ने बताउँदै मन्त्री नेम्वाङले राजनीतिक अस्थिरता र संसदले नै काम गर्न नसक्ने अवस्था भएपछि अन्तराष्ट्रिय अभ्यास तथा राजनीतिक आवश्यकताको सिद्धान्त अनुसार मुुलुकलाई स्थिरता तर्फ लैजान संसद विघटन गरेर निर्वाचनको घोषणा भएको बताउनु भएको छ ।
पुर्नस्थापित संसदले पनि अस्थिरता र पश्चगमनको बाटाहरुलाई निराकरण गरेर समस्या समाधान गर्न नसकेको र बहुमतको सरकार गठन गर्ने पटक पटकका अवसर खेर फालेकाले दोश्रो पटक संसद विघटन गर्नुपरेको वताउँदै मन्त्री नेम्वाङ्गले आफुले मुलुक र जनताप्रतिको दायित्व निर्वाह गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
अर्को आर्थिक बर्षमा सबै भन्दा बढी भौतिक र वित्तिय प्रगति शहरी विकास मन्त्रालयले गर्यो भन्ने समीक्षा निकाल्न सक्ने गरि अहिलेदेखि नै कामकारवाही अघि बढाउन मातहतका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री नेम्वाङले समयमा नै आयोजना छनौट, बजेट निकासा गर्ने व्यवस्था हुने विश्वास दिलाउनु भएको छ ।
मुलुकमा असुरक्षित बसोबास गरिरहेका विपन्न, गरिब बर्गको फुसको छानो हटाएर टिनको छानो लगाउने कार्यक्रममा सन्तोषजनक प्रगती नभएको भन्दै उहाँले मन्त्रालयले अघि सारेको कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिनु भएको छ ।



















