काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा आइपर्ने हरेक विपत्तिमा स्थानीय आवश्यकता अनुसारको राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ । उहाँले सिन्धुपाल्चोक जिल्लामा हालैको प्राकृतिक विपद् व्यवस्थापन तथा राहत कार्यलाई तत्काल प्रभावकारीरुपमा अघि बढाउन समेत सम्बद्ध निकायलाई निर्देशन दिनुभयो ।
जिल्लामा हालैको बाढी पहिरोले पु-याएको क्षतिलाई सम्बोधन गर्न मागसहित शुक्रबार प्रधानमन्त्री ओलीसमक्ष भेट गरेका नेकपा एमाले बागमती प्रदेशकमिटीको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनुभएको हो ।
सिन्धुपाल्चोकको विपत्ति एक मानवीय संकट भएको बताउँदै उहाँले भन्नुभयो, ‘यस कुरामा कसैले राजननीति गर्नु हुन्न मानवीय हिसाबमै जानुपर्छ ।’ पुल बगाएको स्थानमा बेलिब्रिजको व्यवस्था गर्ने कुरामा सरकारको ध्यान पुगेको पनि प्रधानमन्त्रीले बताउनु भयो । उहाँले बाढीको पुर्व सूचना दिन साइरन राख्ने, कटान रोक्न तार जालीको व्यवस्था गर्न तथा पीडित परिवारलाई जस्ता एवं स्थानीय सामग्रीको प्रयोगबाट तत्काल अस्थायी आवासको व्यवस्था गर्नसमेत निर्देशन दिनुभयो ।
विपत्तिमा स्थानीय आवश्यकता अनुसारको राहत उपलब्ध गराइनुपर्ने बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘त्यस्ता ठाउँमा दाताहरु पुगेका छन्, उनीहरुलाई त्यहाँ के चाहिएको छ भन्ने थाहा छैन । लगेर चाउचाउ बाँडेपछि केटाकेटी खुसी होलान् । तर त्यहाँको आवश्यकता त्यो हो कि होइन भन्ने बुझ्नु पर्छ ।’
प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश गर्दै नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीका अध्यक्ष आनन्द पोखरेलले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको सम्पूर्ण उपचार खर्चको व्यवस्थापन सरकारद्वारा गर्न, बहुआयामिक विज्ञ प्राविधिक टोली खटाई पुनः निर्माणको लागि लागत अनुमान र बजेट व्यवस्था गर्न माग समेत आग्रह गर्नुभयो ।
विस्थापित ४ सय घरपरिवारको अस्थायी बसोबासका लागि प्रति परिवार ८ बन्डल जस्ता उपलब्ध गराई अस्थायी बासस्थान निर्माण गर्ने नदी किनाराका बजार संरक्षण र पुनः व्यवस्थापनका लागि तत्कालै तटबन्ध निर्माण गरी बजार सुचारु गर्न र भत्केका घरहरुको पुनःनिर्माण र पुरिएका घरहरुलाई मर्मत सुधार गराउने व्यवस्था गर्न र बिग्रे भत्केका मोटर बाटोहरुको तत्कालै मर्मत सुधार गरी मोटर सञ्चालन गर्ने व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरिएको छ । सिन्धुपाल्चोकमा असार १ गतेपछि परेको अबिरल वर्षापछि उत्पन्न बाढीपहिरोका कारण १६ जनाको मृत्यु हुनका साथै ४ सय घरपरिवार विस्थापित भएका छन् ।

























