काठमाडौं । नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधि पदमुक्त भएका छन् । निर्वाचन आयोगले एक सूचना प्रकाशित गर्दै नेकपा माओवादी केन्द्र त्यागेर एमालेमा लागेका स्थानीय तहका १४ जनप्रतिनिधिहरूको पद रिक्त भएको जनाएको छ ।
गत २०७४ सालको चुनावमा माओवादी केन्द्रका तर्फबाट उम्मेद्वार भएर विजयी भएका तर दल त्याग गरेका उनीहरुलाई माओवादी केन्द्रले पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गरेको थियो । नेकपा माओवादी केन्द्रको निवेदनका आधारमा उनीहरूको पद रिक्त भएको निर्वाचन आयोगले बताएको छ । त्यसरी पद रिक्त हुनेमा दुई मेयर, पाँच उपमेयर, केही गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्य रहेको आयोगले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।