काठमाडौँ । इथियोपियाको टिग्रेमा सरकारी हवाई फौजले गरेको आक्रमणमा परी दर्जनौँ मानिसले ज्यान गुमाएका छन् । सो आक्रमणमा परी कम्तीमा ६० जना मारिएको र ४० भन्दा बढी मानिसहरु घाइते भएको जनाइएको छ ।
बीबीसीका अनुसार इथियोपियाको हवाई फौजले उक्त क्षेत्रको राजधानी मिकाइलीबाट २५ किलोमिटर टाढा अवस्थित टोगोगा बजारमा आक्रमण गरेको बताएका छन्।
इथियोपियाको सेनाले गैरसैनिकहरूलाई निशाना नबनाएको बताउँदै आफ्नो हमलाले आतङ्कवादीहरूलाई निष्क्रिय बनाउने उद्देश्य राखेको जनाएको छ ।
बिबिसीका अनुसार टिग्रेको विद्रोही सेनाले हालैका दिनमा आफूहरूले प्रगति गरिरहेको बताउँदै आएका थिए। इथियोपियाको सरकारले त्यसलाई अस्वीकार गरिरहेको बेला सो हवाई हमला भएको हो ।
रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी आइसीआरसीले आफूले घाइते व्यक्तिहरूको उद्धारमा सघाएको जनाएको छ । यसैबीच संयुक्त राष्ट्रसङ्घले इथियोपियाको सरकारलाई हवाई हमलाका विवरणबारे अनुसन्धान गर्न भनेको छ। करिब आठ महिनाअघि द्वन्द्व सुरु भएयता हजारौँ व्यक्तिले ज्यान गुमाएका छन् भने लाखौँ विस्थापित भएका छन् ।
मिकाइलीको एउटा प्रमुख अस्पतालका चिकित्सकले बीबीसीलाई जानकारी दिए अनुसार सो आक्रमणमा परी कम्तीमा ६० जना मारिएको र ४० जनाभन्दा बढी घाइते भएका छन् । उक्त सङ्ख्या अझ बढ्न सक्ने ठानिएको छ। चिकित्सकहरूले उनीहरूले हवाई आक्रमणबाट घाइते भएका दुई वर्षका एकजना बालकसहित दर्जनौँ व्यक्तिको उपचार गरिरहेको जनाएका छन् ।
स्वास्थ्य अधिकारीहरूले रोयटर्स समाचार संस्थालाई इथियोपियाको सेनाले आक्रमण स्थलमा फसिरहेका मानिसहरूलाई सहयोग गर्न जानबाट रोकेको बताएका छन् ।

























