काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
निगमले हिजो राति अबेर एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको अवस्थामा इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचीअनुसार निगमले स्वचालित मूल्यको आधारमा डिजेल, मट्टितेल तथा पेट्रोलमा २ रुपैयाँले मूल्य बढाएको हो ।
निगमका अनुसार अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य ११० रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै निगमले हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रतिलिटर र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान) मा प्रति किलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरी प्रति किलोलिटर ७३५ अमेरिकी डलर कायम गरेको छ । नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने निगमले बताएको छ । मूल्य बढाइए पनि पेट्रोलियम पदार्थमा अझै घाटा रहेको निगमले जनाएको छ । नेपाली मुद्राको अवमूल्यनका कारण भविष्यमा पेट्रोलियम पदार्थको मूल्य अझै बढ्न सक्ने निगमले बताएको छ ।