विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङ लिम्बू ले प्रदेशका बजेटमा ९० प्रतिशत सङ्घको अनुदानमा निर्भर रहेको जानकारी दिनुभएको छ । आर्थिक वर्ष २०७८/७९ को राजस्व र व्ययको वार्षिक अनुमान माथि प्रदेशसभाका सदस्यले राख्नुभएको जिज्ञासाका जवाफमा उहाँले प्रदेशले आफ्नो खुट्टामा उभिन सबै साधन र स्रोतको अधिकार प्राप्त गर्न सकेमा मात्र सम्भव हुने बताउनुभयो । उहाँले सहज परिस्थिति निर्माण भएमा आगामी वर्षमा प्रदेशको आर्थिक वृद्धि छ प्रतिशत हुने अनुमान गरिएको हो भन्नुभयो ।
प्रदेशसभाको आजको बैठकमा सो आवको बजेट माथिको सामान्य छलफल समाप्त भएको छ । बैठकमा मन्त्री आङ्बुहाङले सरकारले सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रमकै धरातलमा टेकेर बजेट ल्याएको स्पष्ट पार्नुभयो । उहाँले सरकारले कोरोना नियन्त्रण, उपचार, शिक्षा, भौतिक पूर्वाधारका क्षेत्रमा बजेट केन्द्रीत गरेको जानकारी दिनुभयो ।
छलफलमा प्रदेशसभा सदस्य उमिता विक, ओमप्रकाश सरावगी,केदार कार्की, बलबहादुर साम्सुहाङ, मोहनकुमार खड्का, लोकप्रसाद सङ्ग्रौला र शिवनारायण गनगाँईले बजेट सरकारको नीति तथा कार्यक्रमसँग मेल नखाएको टिप्पणी गर्नुभयो । उहाँहरुले बजेटले जनताको आकाङ्क्षा पूरा नगर्ने जनाउँदै वित्तीय सङ्घीयतालाई आत्मसाथ नगरेको बताउनुभयो । उहाँहरुले बजेटले जनतालाई निराशा बनाएको, बजेटको आकार घट्दै गएको र अस्पतालका क्षमता बिस्तार नभएकामा चिन्ता व्यक्त गर्नुभयो ।
बैठकको शून्य समयमा सदस्य ज्योती सुब्बाले सुनसरीको इनरुवामा निर्माणाधीन सामुदायिक भवनको काम छिटो सम्पत्र थप बजेटको व्यवस्थागर्न माग गर्नुभयो । प्रदेशसभाको अर्को बैठक बुधबार अपराह्न १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।