काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको ह्विप उल्ल्घंन गर्ने कर्णाली प्रदेशका ४ जना सांसदलाई जवाफसहित उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो ।
यसअघि एमाले दशौं महाधिवेशन आयोजक कमिटीले गरेको कारवाहीलाई अवैध भन्दै सर्वोच्चले ४ जनाको पुनर्वहाली गरेको थियो । पदमुक्त गरिएका सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्धको पुनरावलोकन (भ्याकेट) माथिको सुनुवाइपछि आज सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाउन समेत आदेश दिएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र कर्णाली प्रदेशसभा सचिवालयको छुट्टाछुट्टै भ्याकेट निवेदन सर्वोच्चमा परेको थियो । अन्तरिम आदेश खारेज गर्ने वा नगर्ने विषयमा छलफल गर्न सर्वोच्चले विपक्षी झिकाएर छलफल गर्न आदेश दिएको हो । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र हरि फुयालको इजलासले दुवै पक्षलाई बोलाउन आदेश दिए पनि अर्को पेशी तोकिएको छैन ।

























