काठमाडौं । प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको मन्त्रिपरिषद् बिस्तार विरुद्ध परेका ६ रिटमाथिको सुनुवाईका आज हुने भएको छ । सो सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र प्रकाश कुमार ढुंगानाको इजलासमा पेशी तोकिएको छ ।
मन्त्रिपरिषद् बिस्तारविरुद्ध परेका रिटमाथि सुनुवाइका क्रममा सर्वोच्च अदालतले यसअघि जेठ २५ गते मंगलबार यसबारे महान्यायाधिवक्तामार्फत लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सितादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र वीरेन्द्रप्रसाद शाहले मन्त्रिपरिषद बिस्तार विरुद्ध सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो ।
आज दुबै पक्षबाट बहस हुनेछ । आजको सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गर्नुभएको मन्त्रिपरिषद पुनर्गठन पनि रद्द हुनेछ । मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्च अदालतमा ६ वटा रिट निवेदन परेका छन् ।

























