जनकपुरधाम । स्थानीय प्रशासन, प्रहरी, राजस्व गस्ती टोली र सशस्त्र प्रहरी लगायतले बारम्बार शङ्काका भरमा व्यावसायिक स्वतन्त्रतामाथि हस्तक्षेप गर्दे व्यवसाय सञ्चालनमा अवरोध सिर्जना गरेकोतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
जनकपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीद्वारा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा प्रशासन र प्रहरीको मनोवृत्तिले व्यवसाय सञ्चालनमा जटिलता थपिदै गएको उल्लेख छ ।
प्रदेश नं. २ का जिल्लाहरूको दक्षिण भाग भारतसँग जोडिएकाले भारतको सीमा नाकादेखि पाँच सय मिटरभित्र गोदाम राख्न पाइने नीतिगत व्यवस्था अनुसारनै स्थानीय उत्पादन र भन्सार तिरी ल्याएको सामान ग्रामीण बजारसम्म लैजाँदा प्रहरीले गाडी र सामान समातेर भन्सारमा बुझाई दिने गरेको समस्याको समाधान गर्न आग्रह गरिएको छ । सक्कल बील पेश नगर्ने, बजारमा रहेको गाडी र सामानहरू भारतको दशगजामा फेला परेको, भारतमा निकासी गर्न लागेको जस्ता आरोप लगाई व्यावसायिक अधिकारमा रोक लगाई आर्थिक क्षति पु-याउने गतिविधि प्रशासन, प्रहरी, राजस्व गस्ती टोली र सशस्त्र प्रहरीले गरी रहेकोतर्फ ध्यानाकर्षण गराइएको छ ।
सरकारी निकायले झुठा मुद्धामा फसाउने गतिविधि गरिरहेकाले निर्वाध व्यवसाय सञ्चालन गर्न पाउने अधिकारको सुरक्षा प्रदान गर्न प्रधानमन्त्रीसँग आग्रह गरिएको छ । ज्ञापन पत्रमा झुठा कुरा सिर्जना गर्ने गराउने सूचनाकर्ता, सामान बरामद गर्ने प्रहरी समेतलाई कारवाहीको दायराभित्र ल्याउनु पर्ने, भिसिटिएस बील र भ्याट रहेको सामान प्रहरीले बरामद गर्ने गराउने काम बन्द गर्न आग्रह गरिएको छ । राजस्व तिरी ढुवानी गरिरहेको सामान र सवारी साधन बीलमा लेखिएको स्थान, ठेगाना र गोदाममा नपुग्दै बरामद नगर्ने नगराउनुका साथै नेपाल सीमाभित्र रहेको सामान भारतीय समिा नाका नजिक वा दशगजा क्षेत्रमा फेला परेको भनि मुद्दा चलाउने समस्या समाधानका लागि पहल गर्न माग गरिएको छ ।