नेपालको पुरानो सभ्यतामध्ये एक कालीगण्डकी सभ्यता पनि हो । कालीगण्डकी नदीमा विश्वकै दुर्लभ शालिग्रामसमेत पाइन्छ । हिन्दू धर्मावलम्बीले पवित्रताका लागि जल स्नानसमेत गर्ने कालीगण्डकी नदी पछिल्लो समय भने अवैध दोहनको सिकार भइरहेको छ ।
सरकार र सरोकारवाला निकाय अवैध दोहनमा पनि मूकदर्शक प्रायः देखिन्छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीलाई अन्य नदीभन्दा अझ बढी महत्वपूर्ण मानिन्छ । विश्वकै दुर्लभ शालिग्राम पाइने नदी पछिल्लो समय मनपरी दोहन हुँदा शालिग्राम लोप हुने अवस्थामा पुग्न थालेको छ भने नदीले धारै परिवर्तन गर्दा बेनी बजार, मालढुङ्गालगायतका बस्ती कटानको जोखिममा परेका छन् ।
कालीगण्डकी नदीमाथि अवैध दोहन हुने क्रम नरोकिएपछि कालीगण्डकी नदी बचाउनका लागि यहाँका युवाहरुले सक्रियता देखाउन थालेका छन् । नदी र यहाँको सभ्यता बचाउनका लागि धौलागिरि र गण्डकीका युवाहरु स्वतःस्फूर्तरूपमा अभियानमा जुट्न थालेका छन् । मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा जिल्लालगायत क्षेत्रमा कालीगण्डकी नदीको चौतर्फी दोहन हुन थालेपछि युवाहरू सामाजिक सञ्जालमार्फत नदी र सभ्यता बचाउ अभियानमा जुटेका हुन् । युवाहरुले ‘कालिगण्डकी बचाउ अभियान’ शुरु गरेका हुन् । यस अभियानमा नदी दोहनका विषयमा कलम चलाउने पत्रकारहरु समेत सहभागी छन् ।
गण्डकी सभ्यता नितान्त ऐतिहासिक भएको र यसको उद्गम थलो कालीगण्डकी भएका कारण यसलाई बचाउन सके कालीगण्डकी सभ्यता जोगिने नत्र यस आसपासमा भएका धार्मिक तथा पुरातात्विक संरचनासमेत लोप भएर नयाँनयाँ सङ्कट देखा पर्ने कालीगण्डकी सभ्यता बचाउ अभियानका मुख्य अभियानकर्मी आरके अदिप्त गिरीले बताउनुभयो । उहाँका अनुसार यस अभियानमा जो कसैले स्वतःस्फूर्तरूपमा सहभागिता जनाउन सक्नेछन् ।
“कालीगण्डकी बचाऔँ अभियानको एउटा सञ्जाल बनेको छ, गण्डकी प्रदेशका धेरै जिल्लाका युवाहरुले यसमा हातेमालो गर्न थाल्नुभएको छ, यसले राज्यलाई कालीगण्डकी संरक्षणमा दवाब पुग्नेछ”, गिरीले भन्नुभयो, “हाम्रो संस्कृति र सभ्यता बचाउन हामीले नै पहल गर्नुपर्छ नत्र केही वर्षमा गण्डकी सभ्यता लोप भएर जानेछ, अवैध नदी दोहन रोक्नु पहिलो अभियान हुनेछ, त्यसपछि संरक्षणमा जुट्नेछौँ, यो नितान्त सरकार र सरोकारवाला निकायलाई जिम्मेवार बनाउने अभियान हो ।” उहाँका अनुसार यस अभियानमा विभिन्न जिल्लाका १०० भन्दा बढी युवाको सक्रिय सहभागिता भइरहेका छन् र धेरै अभियानमा जोडिँदै जानेछन् ।
मानव र जैविक विविधताको अस्तित्वसँग गाँसिएको कालीगण्डकी नदी, खोलाबाट गिटी, ढुङ्गा, बालुवा एकोहोरो दोहन हुँदै जाँदा प्रकृति, वातावरण र मानव सभ्यता नै अप्ठ्यारोमा पर्ने अवस्था निकट देखिएकाले अभियान थालिएको गिरीको भनाइ छ । गिरीले लामो समयदेखि प्राकृतिक सुन्दरता र वातावरणका विषयमा कलम चलाउँदै समेत आउनुभएको छ ।
नदीमा अवैधरूपमा उत्खनन गर्ने कार्य रोक्न र कालीगण्डकी सभ्यता बचाउन गिरीले सबै सचेत नागरिकलाई आग्रहसमेत गर्नुभयो । कालीगण्डकी नदीमा माफियाको बिगबिगी भएको र यसलाई बचाउन आवश्यक रहेको अधिकारकर्मी राम शर्माले बताउनुभयो । कालीगण्डकीमा खुलेआम अवैध कर्म चल्दा, नदी आफ्नै स्वरूपमा बग्न नपाउने स्थितिले भोलिका दिनमा भयावहको अवस्था आउन सक्नेतर्फ समयमै सचेत हुनुपर्ने शर्माको भनाइ छ । राज्य पक्षसमेत आर्थिक प्रलोभन र प्रभावमा परी सभ्यता मास्न लागि परेको उहाँको आरोप छ ।
गण्डकी प्रदेशको नामसँग जोडिएको कालीगण्डकी र यहाँको सभ्यता जोगाउन स्थानीय, प्रदेश र सङ्घ सरकारले ध्यान दिनुपर्ने अभियानकर्मीहरूको जोड छ । गण्डकी प्रदेश सरकारको २०७८÷०७९ को नीति तथा कार्यक्रममा वातावरणीय प्रभाव मूल्याङ्कन गरी ढुङ्गा, गिट्टी र बालुवा उत्खनन, उपयोग र व्यवस्थापनका लागि वातावरणमैत्री बनाउन आवश्यक समन्वय गरिने नीति लिइएको छ । ठेक्कामा दिएका नदीबाट तोकिएका मापदण्डभन्दा बाहिर गएर काम भए नभएको अनुगमन नहुनु र भए पनि कर्मकाण्डी हिसाबले मात्र गर्नु सबैभन्दा चिन्ताको विषय भएको छ । (रासस)