काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा सक्रिय रहन सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ । उहाँले स्काउट शिक्षामार्फत् सामाजिक जागरण र विपद् व्यवस्थापनमा सक्रिय रहन सरोकारवालाहरुलाई आग्रह गर्नुभएको हो । उहाँले स्काउट अभियानको विकास र विस्तार गर्न सरकारले आगामी आर्थिक वर्षभित्र देशका १३ हजार सामुदायिक विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने बताउनुभयो । नेपाल स्काउटको ७०औँ स्थापना दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले स्काउटका सङ्गठनलाई संविधान अनुकूल बनाउँदै सात प्रदेश र ७५३ वटै स्थानीय पालिकामा विस्तार गरिएको जानकारी शुभकामना सन्देशमा दिनुभयो । ‘अन्तर्राष्ट्रिय सम्बन्धमा समेत व्यापक सुधार भई नेपाल एसिया प्रशान्त क्षेत्रमै एउटा नमुना र अब्बल स्काउट सदस्य राष्ट्र बन्न सफल भएको छ’ उहाँको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
बालबालिका तथा युवालाई चरित्रवान्, स्वयंसेवी, नैतिकवान् र स्वावलम्बी बनाउँदै सानै उमेरदेखि साहसिक क्रियाकलाप, विपद् व्यवस्थापन, सामुदायिक कार्य र स्वअध्ययनमा लगाउन नेपाल स्काउटको भूमिका उल्लेखनीय रहेको भन्दै प्रधानमन्त्री ओलीले प्रशंसासमेत व्यक्त गर्नुभयो ।