काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिने हुनुभएको छ । आज विहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लाग्नुभएको जानकारी गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले दिनुभयो ।
यसअघि एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गर्नुभएका कांग्रेस संसदीय दलका नेता पोखरेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
नेपालको संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । तर मुख्यमन्त्री पोखरेलले नियुक्त भएको एक सातामै विश्वासको मत लिन लाग्नुभएको हो । विश्वासको मत लिनु दुई दिनअघि प्रदेशसभामा जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही अनुसार पोखरेलले बुधबार नै प्रदेशसभा सचिवालयमा जानकारी गराइसकेको प्रवक्ता खड्काले बताउनुभयो । मुख्यमन्त्री पोखरेललाई काँग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एकजना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन रहेको छ ।
विपक्षमा एमालेका २७ सांसद रहेका छन् । जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएसँगै प्रदेशसभा ५९ सदस्यीय भएको छ । जसका कारण सत्तापक्षलाई बहुमत पुर्याउन सहज देखिन्छ । मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिएपछि मन्त्रीहरुको कार्यविभाजन गर्ने बताउँदै आउनुभएको छ ।