काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कुप्रचार गर्नेहरुविरुद्ध उत्रिन मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारका विरुद्धमा विरोधीहरुले कुप्रचार गरेको बताउनुहुँदै त्यसको प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई निर्देशन दिनुभएको हो ।
सरकारविरोधीहरु आक्रामक ढंगले प्रस्तुत भइरहेका छन् सरकारको कामको प्रचारप्रसार गर्न र विरोधीको खण्डन गर्नुपर्ने समय भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । उहाँले हरेक मन्त्रीहरूलाई सरकारको कामको प्रचार गर्न, विरोधीको खण्डन गर्न र आफ्ना काम र उपलब्धिहरूको रक्षा गर्न अनुरोध गर्नुभयो ।
सरकारको विरोध गर्दागर्दै लामो समय कटाएको भए पनि केहीले सरकार ढाल्न नसकेर अदालतको सहारा लिन पुगेको भन्दै प्रधानमन्त्री ओलीले संसारको कुनै पनि देशमा अदालतबाट सरकार बनेको इतिहास नरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले अघिल्ला वर्ष झैं तराईका जिल्लामा यस वर्ष डुबान नहुने बताउनुभयो । ‘जुन डुबान क्षेत्रहरू हो त्यहाँ हामीले अलिकति खोलेका छौँ । अरु ठाउँहरूमा पनि खोल्दै जानु आवश्यक छ । यसका निम्ति संयुक्त टोलीले सर्भे गर्ने, संयुक्त टोलीले निर्णय गर्ने र संयुक्त टोलीलाई खटाउनुपर्ने बेला यही हो’, उहाँले भन्नुभयो । सिमावर्ती क्षेत्रका बाँधबाट हुने डुबानबाट बच्न पनि संयुक्त टोलीसँग मिलेर कार्य गरी डुवान हुन नदिन चनाखो हुनुपर्नेमा उहाँको जोड थियो ।