काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टीलाई मिलाएर अगाडि बढ्न आग्रह गर्नुभएको छ । थप उपचारका लागि दिल्ली जानुअघि नेता खनालले एमालेलाई एकढिक्का बनाउने भूमिका निर्वाह गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको छ ।
उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको फोनबाट नेता खनालसँग संवाद गर्नुभएका प्रधानमन्त्री ओलीले खनालको स्वास्थ्यलाभको कामना गर्नुभयो । सोही क्रममा खनालले ओलीलाई पार्टी मिलाउन आग्रह गर्नुभएको नेता खनालका निकट सहयोगी होम बुढाथोकीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीसँग कुराकानी हुँदा नर्भिक अस्पतालमा खनालसँगै रहनुभएका बुढाथोकीले बताउनुभयो, ‘झलनाथ कमरेडले प्रधानमन्त्रीलाई पार्टी मिलाउनुहोस् भन्नुभयो ।’ नेता खनालले अध्यक्ष ओली पार्टीको प्रमुख ठाउँमा भएकाले मिलाउने भूमिका बढी हुने बताउनुभएको थियो । ओलीसँग कुराकानीका क्रममा नेता खनाल भावुक बन्नुभएको थियो ।
बुधबार नै एमाले महासचिव ईश्वर पोखरेल नेता खनाललाई भेट्न नर्भिक अस्पताल जानुभएको थियो । पोखरेलसँग पनि नेता खनालले एकताको पहल गर्न आग्रह गर्नुभएको थियो ।
महासचिव पोखरेलले पार्टीलाई मिलाएर अगाडि बढाउने बताउनुभएको थियो । सो अवसरमा उहाँले नेता खनाललाई स्वास्थ्यलाभको शुभकामना पनि दिनुभयो । जेठ ३१ गते नर्भिक अस्पताल भर्ना हुनुभएका नेता खनाललाई थप उपचारका लागि दिल्लीस्थित एपोलो अस्पताल लगिएको छ ।