काठमाडौं । कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुले आन्दोलन फिर्ता लिएका छन् ।
नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच आज भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको हो ।
कोरोनाविरुद्धको खोप नपाएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघले बागमती प्रदेशभर आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध गरेको थियो ।
संघका अध्यक्ष ईश्वर लामाका अनुसार बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भएको छ ।
सहमतिभएसँगै थानकोट डिपो र त्यहाँबाट प्रदेशभरि तेल ढुवानी गर्ने ९०० जना चालक तथा सहचालकले कोरोना खोप पाउने भएका छन् भने अमलेखगञ्जका झण्डै १ हजार ४०० चालक–सहचालकलाई पनि खोप दिने सहमति भएको छ ।
आन्दोलित ट्यांकर चालक तथा सहचालकलाई खोप लगाउने विषयमा सहमति भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन् ।