काठमाडौं । नेपालका सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट ल्याउने भएका छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा छलफल भई पारितसमेत भइसकेको अवस्था छ । असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधान व्यवस्था रहेकोले आज बजेट प्रस्तुत गरिन लागेको हो ।
सातै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, सङ्क्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ । सोहीअनुसार आजको बजेटको प्राथमिकता पनि कोरोना महामारी नियन्त्रण नै हुनेछ ।
केन्द्र सरकारले प्रदेशलाई समानीकरणमा ५७ अर्ब ९५ करोड ४८ लाख, ससर्तमा ३५ अर्ब ८७ करोड ३१ लाख, विशेषमा चार अर्ब १५ करोड, समपूरकमा पाँच अर्ब ७२ करोड ४६ लाख गरी जम्मा एक खर्ब तीन अर्ब ७० करोड २५ लाख रकम छुट्याएको छ । यसका अतिरिक्त राजस्व बाँडफाँट र रोयल्टी बाडँफाँटबाट पनि प्रदेशलाई रकम जाने व्यवस्था गरिएको छ । यसैगरी प्रदेशको आफ्नै स्रोतबाट पनि राजस्व परिचालन हुन्छ ।
प्रदेश १ मा आज अपराह्न ३ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । सो बैठकमा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
सरकारको नीति तथा कार्यक्रमको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा आइतबार मुख्यमन्त्री शेरधन राईले प्रदेश सभामा स्रोत सुनिश्चित हुने गरी आगामी आर्थिक वर्षको बजेट आउने जानकारी दिनुभयो । उहाँले प्रदेश सभामा चालू आर्थिक वर्षको बजेटको तुलनामा सानो आकारको बजेट आउने सङ्केत गर्दै सिँचाइ र खानेपानी पूर्वाधारमा केही थप नयाँ आयोजना आउन सक्ने भए पनि सडक पूर्वाधारमा भने चालू योजनालाई नै सम्पन्न गरिने जानकारी दिनुभयो ।
प्रदेश २ को प्रदेश सभाको बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । सो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुने छ । मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा कोरोना महामारी नियन्त्रणसहित स्वास्थ्य र भौतिक पूर्वाधारलाई उच्च प्राथमिकतामा राखिएको छ । यसबाहेक कृषि, पर्यटन र रोजगारीका अवसर सिर्जनालाई पनि बजेटले प्राथमिकता दिने जनाइएको छ । आगामी आर्थिक वर्षमा मुख्यमन्त्री स्वरोजगार कार्यक्रममा प्राथमिकतासाथ बजेट विनियोजन गरिने जानकारी उहाँले बताउनुभयो ।
वाग्मती प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम शनिबार प्रदेश सभाले बहुमतले पारित गरिसकेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न आज अपराह्न ३ बजे बैठक बोलाइएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
गण्डकी प्रदेशमा सरकार परिवर्तनका कारण नीति तथा कार्यक्रम पारित गर्न र बजेट निर्माणमा समय कम भए पनि आज नै बजेट प्रस्तुत हुने छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शनिबार शपथ लिनुभयो । उहाँले मन्त्री नियुक्त गर्नुभए पनि जिम्मेवारी दिइएको छैन ।
मुख्यमन्त्री पोखरेलले सोमबार मात्रै नीति तथा कार्यक्रम पेस गर्नुभयो र राति अबेर गरी पारितसमेत भयो । मुख्यमन्त्री पोखरेलले नै मङ्गलबार बजेट पेस गर्नुहुने भएको छ । उहाँले करिब ३३ अर्बको बजेट ल्याउने तयारी गर्नुभएको बताइएको छ ।
लुम्बिनी प्रदेशमा आइतबार नीति तथा कार्यक्रम पारित भइसकेको छ भने आज अपराह्न ४ बजे प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । लुम्बिनी प्रदेशमा करिब ३५ अर्बको बजेट ल्याउने तयारी भएको छ ।
कर्णाली प्रदेशमा बोलाइएको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बजेट प्रस्तुत गर्नुहुनेछ । कर्णालीमा करिब ३२ अर्बको बजेट ल्याउने तयारी गरेको छ । यो बजेटमा स्वास्थ्य, पूर्वाधार र रोजगारीलाई प्राथमिकता दिइएको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशमा मङ्गलबार अपराह्न ४ बजे प्रदेश सभामा आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । करिब ३० अर्वको बजेट ल्याउने तयारी गरिरहेको छ । बजेटमा कोरोना नियन्त्रण, उपचारलगायत स्वास्थ्य क्षेत्र र भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी खगेन्द्र साउदले जानकारी दिनुभयो । उहाँले चालू आर्थिक वर्षको तुलनामा आकार सानो हुने जानकारी दिनुभयो ।