काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लमजुङ कांग्रेसका पूर्व सभापति एवं पूर्व सांसद हरिभक्त अधिकारीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँको आइतबार काठमाडौंको मनमोहन मेमारियल अस्पतालमा उपचारका क्रममा ७९ वर्षको उमेरमा निधन भएको हो ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनको खबरले आफू निकै दुःखी भएको उल्लेख गर्दै कांग्रेसले एक असल नेता गुमाएको जनाउनुभएको छ । कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अधिकारीले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
विसं १९९९ पुस १९ गते लमजुङको सुन्दरबजार नगरपालिका–४ (साविक दुराडाँडा गाविस चारघरे) मा जन्मनु भएका अधिकारी विगत लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । अधिकारी २०४८ सालदेखि २०५३ सालसम्म कांग्रेस जिल्ला कार्यसमिति लमजुङको सभापति हुनुहुन्थ्यो ।
पार्टीको विभिन्न तहको पदमा रही कार्य गर्नुभएका अधिकारी विसं २०५६ को आम निर्वाचनमा लमजुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । अधिकारी गैरसरकारी संस्था महासंघको पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष र नेपाल खाद्य संस्थानको पूर्व अध्यक्ष तथा विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहँदै विकास निर्माणमा समेत क्रियाशील हुनु भएको थियो ।
कांग्रेसले नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममा उहाँले पटक पटक जेल जीवन समेत व्यतित गर्नु भएको उल्लेख गर्दै उहाँको निधनबाट पार्टीले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको जनाएको छ । स्व अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।
























