काठमाडौँ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले नेता पृथ्वी सुब्बा गुरुङले प्रदेशमा काँग्रेस नेतृत्वमा बनेको वर्तमान गठबन्धनको आयु लामो नभएको बताउनुभएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै गुरुङले गठबन्धनलाई अप्राकृतिक भएकाले यो गठबन्धनको आयु लामो नहुने धारणा राख्नुभयो । उहाँले सबै दलमा विभाजनको रेखा कोरिएकाले अब सबै दलले आफूलाई करेक्सन गर्न सक्नुपर्ने बताउनुभयो ।
गण्डकीमा एमालेले अब रचनात्मक प्रतिपक्षको भूमिका निभाउने नेता गुरुङले बताउनुभएको छ । ‘प्रदेशमा अब एमालेले रचनात्मक प्रतिपक्षको भुमिका खेल्छ । तर गुटउपगुटमा विभाजित अप्राकृतिक यो गठबन्धन पूर्वपश्चिम फर्केको छ । कुर्सी प्राप्तिमा गरिने गठबन्धनमा केही न केही झगडा हुन्छ र गठबन्धनको आयु लामो छैन,’ गुरुङले भन्नुभयो, ‘मेरो भूमिकामा फरक पर्ला तर प्रदेश सभा ५ वर्ष चल्नुपर्छ भन्ने मान्यतामा म अडिग छु ।’ उहाँले राजनीति फोहोरी खेल नभए पनि राजनीतिमा फोहोरी मान्छेको प्रवेशले नेपालको राजनीतिमा समस्या देखिने गरेको उहाँको भनाइ छ ।
उहाँले गठबन्धनका तर्फबाट नियुक्त भएका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गठबन्धनले शनिबार प्रदेश प्रमुखको कार्यालय घेराउ गरेर राजनीतिक आचरण नदेखाएको बताउनुभयो । साथै उहाँले आफुले समेत मुख्यमन्त्रीमा दावी पेश गरेको विषयलाई गलत अर्थले प्रचारबाजी गरेकोमा असन्तुष्टि जनाउनुभयो ।
‘प्रदेशका सबै सदस्यले दाबी गर्न पाउँछन् । उपधारा ५ मा त्यो व्यवस्था छ । के मैले दाबी गर्दा अपराध हुन्छ ? कहाँ छ संविधानमा मुख्यमन्त्रीले दाबी गर्नुहुँदैन भन्ने ? फेरि मसँग २७ जना सांसद छन्’, गुरुङको भनाइ थियो । उहाँले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललाई संघीयताको मर्मअनुसार काम गर्न सुझाव दिनुभयो ।