काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । प्रदेश प्रमुख सीता पौडेलले दिएको २४ घण्टाको समय सकिनु केही अगाडि गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनसहित मुख्यमन्त्रीमा दावी गरेका हुन् ।
गुरुङले राजमोका कृष्ण थापा र जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङको समर्थनपत्र लिएर दावी गरेको बताइएको छ । जसपा गण्डकी प्रदेशले दुई सांसदलाई अनुशासन उल्लंघनमा कारवाही गरेको पत्र समेत पेश गरेको पनि बताइएको छ ।
राजमोका कृष्ण थापालाई सर्वोच्च अदालतमा प्रदेश सभा सदस्यमा पुनर्वहाली गरेपछि प्रदेशसभा सचिवालय भ्याकेटमा गएको थियो । तर शुक्रवार ह्वीप उल्लंघन गरेको भन्दै पुन उनको पद रिक्त गराइएको सूचना जारी गरिएको थियो । तर उनले यसलाई गैर संवैधानिक भएको र अदालतमा भ्याकेटको निवेदनमाथिको मुद्दा समेत चलिरहेको जानकारी प्रदेश प्रमुखलाई गराइएको छ ।
उता विपक्षी दलको गठबन्धका ३१ प्रदेशसभा सदस्यको समर्थनसहित शुक्रबार प्रदेश प्रमुखसमक्ष दावी गरेको थियो ।
कांग्रेसका प्रदेश सदस्य कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै गठबन्धनमा नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टी (जसपा) का २ र स्वतन्त्र प्रदेश सदस्य दीपक मनाङ्गेले हस्ताक्षर गरेका छन् ।
प्रदेश सभामा बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो ।