काठमाडौं । विपक्षी दल नेपाली कांग्रेसले वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिई आफ्नो अभिव्यक्तिप्रति अबिलम्ब आत्मालोचना गर्न निर्देशन दिएको छ । शनिबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिनुभएको छ । प्रवक्ता शर्माले वाग्मती प्रदेशका कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँमार्फत पार्टीले गरेको निर्देशनलाई पालना गरी विवादास्पद अभिव्यक्तिमा संयम र सजगता राख्न समेत सचेत गराइएको जानकारी दिनुभयो ।
कांग्रेसका अर्का एक नेताका अनुसार वैद्यलाई प्रदेशसभामै आत्मालोचना गर्न निर्देशन दिइएको छ । आफ्ना धारणा राख्न वैद्यले सभामुखसँग समयसमेत मागिसकेको ती नेताले बताउनुभयो । ‘हामी कुनै पनि बहानामा उहाँको अभिव्यक्ति ढाकछोप गर्दैनौं । यही कुरा अरूले गर्दा गल्ती हो हामीले गर्दा महागल्ती हो । वैद्यले ‘महागल्ती’ गरेकाले माफी माग्दै आफ्ना अभिव्यक्ति फिर्ता लिनुपर्छ,’ कांग्रेस प्रवक्ता शर्माले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आएकाले त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति नभएको उल्लेख छ । ‘पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोहीबमोजिम आफूलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुन्छ भन्ने विषयमा नेपाली कांग्रेस प्रष्ट छ,’ प्रवक्ता शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘नेपाली कांग्रेस प्रष्ट छ अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन । आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिंदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन । शान्तिपूर्ण राजनीतिको सालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।