काठमाडौं । वाग्मती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको अभिव्यक्तिप्रति नेकपा एमालेले गम्भीर आपत्ति जनाएको छ ।
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस नेता वैद्यको अभिव्यक्तिप्रति घोर भर्त्सना एवं निन्दा गर्नुभएको छ ।
‘प्रधानमन्त्रीको हत्याका लागि अरूलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैं पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ’ प्रवक्ता ज्ञवालीको विज्ञप्तिमा उल्लेख गरिएको छ । उहाँले वैद्यको अभिव्यक्तिले फौजदारी कानुनसमेत आकर्षित हुने उल्लेख गर्दै एमालेले यस विषयमा सम्बद्ध राजनीतिक दलको गम्भीर ध्यानाकर्षण गराएको छ ।
‘उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुनसमेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ’ विज्ञप्तिमा भनिएको छ । शुक्रबार प्रदेशसभाको बैठकमा सांसद वैद्यले प्रधानमन्त्री ओलीले देश सिध्याउन लागेको भन्दै त्यसलाई रोक्न कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैं बन्ने अभिव्यक्ति दिनुभएको थियो । गोड्से भनेका ती व्यक्ति हुन्, जसले महात्मा गान्धीको हत्या गरेका थिए ।