काठमाडौँ । नैतिकता र मूल्य मान्यतामा आधारित राजनीतिका लागि सन्त नेता एवं नेपाली कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराईलाई बिर्सन नसकिनेमा जोड दिइएको छ । लोकतन्त्र संवाद केन्द्रले आज जुम प्रविधिबाट आयोजना गरेको ‘मूल्य र नैतिकतामा आधारित राजनीति र किसुनजीको सम्झना’ विषयक अन्तरक्रियामा विघटित प्रतिनिधिसभाका सांसद एवं समाजवादी चिन्तक प्रदीप गिरिले राजकीय शक्ति दुरुपयोग गरेर धन कमाउनुभन्दा ठूलो अपराध केही हुन्न भन्ने दर्शनबाट पूर्वप्रधानमन्त्री भट्टराई निर्देशित हुनुभएको बताउनुभयो ।
“किसुनजीको यो नैतिकताको स्रोत आध्यात्मिकता हो, पार्टीलाई नै परिवार सम्झेर उहाँको राजनीतिक जीवन बित्यो, आफूसँग असहमत हुनेसँग पनि कुरा गर्ने प्रजातान्तिक संस्कार उहाँमा थियो,” समाजवादी चिन्तक गिरिले भन्नुभयो ।
दुईपटक प्रधानमन्त्री भएर बालुवाटारबाट निस्कँदा पनि किसुनजीले छाता, सुराही र थोत्रो ट्याङ्का लिएर निस्कनु नै उहाँको बिम्ब बनेको कार्यक्रमका वक्ताको भनाइ थियो । कार्यक्रममा वरिष्ठ पत्रकार युवराज घिमिरेले वर्तमान जटिल राजनीतिक परिस्थितिमा देशको राजनीतिक सार्वभौमसत्ता सुरक्षित राख्न किसुनजीको दर्शनअनुसार चल्न नेतृत्वलाई सुझाव दिनुभयो ।
पूर्वसचिव कृष्ण ज्ञवालीले अन्तरिमकालमा प्रधानमन्त्री बन्नुहुँदा किसुनजीले राजदरबारमा पठाउने पत्रमा त्यसअघि लेख्ने गरिएको ‘सरकारको अनन्य भक्त’ का स्थानमा ‘सरकारको हितैषी’ लेख्ने परम्पराको शुरुआत गर्नुभएको स्मरण गराउनुभयो ।
कार्यक्रममा कृष्णप्रसाद भट्टराई फाउन्डेसनका महासचिव विनोदकुमार भट्टराईले किसुनजीका विषयमा हालसम्म प्रकाशित नभएका विषय राखेर पुस्तक प्रकाशनको अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । सो अवसरमा पूर्वसांसद हीरादत्त भट्ट, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसी, डा पूर्णकान्त अधिकारी, काठमाडौँ कांग्रेसका नेता राजन केसी, केन्द्रका नारायण भट्टराई र प्रदीप शर्मालगायतले नेपालको राजनीतिलाई सदाचारयुक्त बनाउन किसुनजीको योगदानका विषयमा प्रकाश पार्नुभएको थियो ।
(रासस)