काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङेले पदबाट राजीनामा दिनुभएको छ । बिहीबार संसदमा अनुपस्थित हुनुभएका मनाङेले पदबाट राजीनामा दिनुभएको हो । उहाँले बिहीबारबाटै लागू हुनेगरी आफूले पदबाट राजीनामा दिएको जानकारी दिनुभयो ।
उहाँले मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको बताउनुभयो । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार सदनमा विश्वासको मत गुमाएपछि मनाङेले पदबाट राजीनामा दिनुभएको हो । मुख्यमन्त्री गुरुङको विपक्षमा उभिनुभएका उहाँ प्रदेश सभा बैठकमा अनुपस्थित हुनुभएको थियो ।
संसदलाई जीवित राख्नु जनप्रतिनिधिको जनताप्रतिको उत्तरदायित्व र नैतिकता भएको उहाँले बताउनुभएको छ । यस्तो अवस्थामा मन्त्री भइरहनुभन्दा प्रदेशसभालाई बचाउनु पर्ने भएकाले पदबाट राजीनामा दिएको उहाँको भनाइ छ ।
मुख्यमन्त्रीले संसदमा विश्वासको मत गुमाइसकेको अवस्थामा मन्त्री पदमा बसिरहन नैतिक सम्मत नहुने उहाँको राजीनामा पत्रमा उल्लेख छ ।
उता मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्री मनाङेलाई पदमुक्त गर्दै खेलकुद मन्त्रालयको जिम्मेवारी आफैसँग राखेको बताउनुभएको छ ।