काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको वालुवाटार स्रोतले जनाएको छ । गत शुक्रबार जसपाका नेताहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिएको थियो भने सात मन्त्री तथा एक राज्यमन्त्री खालि थियो । तिनै मन्त्रालयहरुमा नियुक्त मन्त्रीहरुको आज शपथ कार्यक्रम तय भएको बताइएको छ ।
आज शपथ खानुहुने मन्त्रीहरुमा खगराज अधिकारी गृह, पूर्वगृहमन्त्री तथा पूर्व माओवादी नेता रामबहादुर थापाकी श्रीमती नैनकला थापा सञ्चार तथा सूचना प्रविधि, नारदमुनी राना वन तथा वातावरण, ज्वाला कुमारी साह कृषि, गणेश पहाडी सामान्य प्रशासन, मोहन बानियाँ विनाविभागीय, राजकिशोर यादव उद्योग तथा आपूर्ति र आशा विक वन राज्यमन्त्री रहनुभएको बालुवाटार स्रोतले बताएको छ ।
नेता माधवकुमार नेपाल पक्षका नेताहरुसँगको वार्ता भइरहेको थियो । सो समूह एमालेमै रहने सहमति भएमा उनीहरुलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी प्रधानमन्त्री ओलीको थियो । तर सो समूहले मिल्ने छाँटकाँट नदेखाएपछि आफू निकटहरुलाई समेटर मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । गणेश पहाडी भने माधव नेपाल निकट नेता थिए । पहाडी सो समूहको पनि योगेश भट्टराई निकट मानिन्छन् ।