काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली तथा संघीय सभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरुसँग छलफल गर्नका लागि सर्वदलीय बैठकको आह्वान गर्नुभएको छ ।
सो छलफलका लागि पूर्व प्रधानमन्त्रीसहित सबै दललाई बुधबार पत्र पठाइएको छ ।
सो छलफलमा सहभागी हुनका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सभामुख सापकोटाले लिखित निमन्त्रणा पठाउनुभएको छ ।
प्रतिनिधि सभा विघटनपछि विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भेटघाट, छलफल र परामर्श गरिरहनुभएका सभामुख सापकोटाले दलका नेताहरुसँग पनि छलफल लाग्नुभएको हो । शुक्रबार दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।
सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेका अनुसार प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू, संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई बैठकमा बोलाइएको छ । संघीय संसदमा अहिले एमाले, कांग्रेस, माओवादी केन्द्र, जसपा, राजमो, नेमकिपा र राप्रपाको प्रतिनिधित्व रहेको छ । सभामुख सापकोटाले यसअघि जेठ ११ गते पूर्व सभामुखहरुसँग छलफल गरिसक्नुभएको छ ।