काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वक्तव्य र वरिष्ठ नेता माधवकुमार नेपालबीच एकअर्कामा भइरहेको वक्तव्य तथा प्रति–वक्तव्यले नेकपा एमालेको एकता प्रयासमाथि प्रश्न उठेका बेला दोस्रो तहका नेताहरुबीच वार्ता भएको छ ।
होटल समिटमा मंगलबार साँझ दुवै पक्षका दोस्रो तहका नेताहरुबीच संवाद भएको थियो । ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी हुनुहुन्थ्यो भने नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य रहनुभएको थियो । दोस्रो तहका नेताहरुबीच भइरहेको एकता सम्वादमा आचार्य पहिलोपटक सहभागी हुनुभएको हो ।
छलफलका क्रममा अध्यक्ष ओली र नेता नेपालको वक्तव्यबारे एकअर्को पक्षले गुनासो गरेको एक नेताले बताउनुभयो । ओली पक्षले २०७५ जेठ ३ पूर्व फर्किने प्रतिबद्धता जनाए पनि सहमतिमा नआएको ओली पक्षको गुनासो थियो । नेपाल पक्षका नेताहरुले भने अध्यक्ष ओलीको प्रस्तावमा अरु प्रष्ट गर्न आग्रह गरेका छन् ।
सो छलफलमा ओली पक्षका नेताहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबाट सांसदहरुको हस्ताक्षर फिर्ता लिनुपर्नेमा जोड दिनुभएको छ । तर नेपाल पक्षका नेताहरुले नेता नेपालको वक्तव्यमा झै संसद विघटनपछि रिट गएकाले विघटन फिर्ता भए हस्ताक्षर पनि स्वतः फिर्ता हुने जानकारी दिए । यद्यपि सो छलफल सकारात्मक रहेको दुवै पक्षका नेताहरुले बताउनुभएको छ । छलफलमा सहभागी नेपाल पक्षका एक नेताका अनुसार पार्टीलाई एकताबद्ध गराउन सो छलफल भएको र छलफल सकारात्मक दिशातर्फ अगाडि बढेको छ । सो संवादमा सहभागी एमाले नेता सुवास नेम्वाङले पनि सम्वाद जारी रहने जानकारी दिनुभयो ।