काठमाडौं । विगत दुई दिनदेखि स्थगित भएको सर्वोच्च अदालतको संवैधानिक इजलास आज बस्ने भएको छ । संसद् विघटन तथा प्रधानमन्त्री नियुक्तिसम्बन्धी मुद्दा सुनुवाइका लागि पुनर्गठित संवैधानिक इजलास बस्ने भएको हो ।
यसअघि सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा समस्या आएपछि संवैधानिक इजलास स्थगित भएको थियो ।
यसअघिको संवैधानिक इजलासप्रति प्रश्न उठेपछि गत आइतबार प्रधानन्यायाधीशको नेतृत्वमा पुनर्गठित इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहनुभएको छ । तर यस इजलासले पनि संसद् विघटन मुद्दा हेर्न नपाउने भन्दै सरकारी पक्षका वकिलले प्रश्न उठाएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर सोमबारका लागि पेसी तोकिएको थियो । त्यस दिन प्रधानन्यायाधीश अस्वस्थ भएको भन्दै सुनुवाइ स्थगन गरिएको थियो । अब इजलास आज बस्ने सर्वोच्च अदालतले जनाएको छ । सरकारी पक्षका वकिलको विरोधका बीच आज सुनुवाइ कसरी अघि बढ्ला भन्ने आमचासो छ । इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित सुनुवाइ सुरु नै हुन सकेको छैन ।
आइतबार सरकारी वकिलहरूले इजलासको रोष्टरमा रहेका ११ न्यायाधीशको संसदीय सुनुवाइ हुँदाका बखत सांसद रहेका व्यक्तिहरु पनि रिट निवेदक भएकाले ती ११ जना न्यायाधीश बस्न नहुने तर्क अघि सार्नुभएको थियो । उहाँहरुले १८ गते राय व्यक्त गरेका दुईजना न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराई इजलासमा बस्न नहुने तर्क अगाडि सार्नुभएको थियो ।
प्रधानन्यायाधीश राणाले कुनै पनि न्यायाधीश इजलासमा बस्न योग्य नभएको प्रश्न उठाउँदा मानहानी मुद्धा लाग्ने भन्दै कारबाही हुनसक्ने चेतावनी पनि दिनुभएको थियो । अब आजको इजलासमा पुरानैले निरन्तरता पाउँछ या प्रधानन्यायाधीश राणाले फेरि पुनर्गठन गर्नुहुन्छ भन्ने स्पष्ट रहेको छैन ।
संसद् विघटन र प्रधानमन्त्री नियुक्ति विवादमा सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन परेका छन् । जसमा प्रधानमन्त्री ओलीकै पक्षबाट पनि ५ वटा निवेदन छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले यही जेठ ७ गते मध्यराति प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन गराउने घोषणा गर्नुभएको छ ।