काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सम्पूर्ण नागरिकलाई कोरोनाविरुद्धको खोप व्यवस्थापन गर्न सरकार प्रयासरत रहेको बताउनुभएको छ । वाग्मती प्रदेश स्काउट अन्तर्गत गोकर्णेश्वर नगरपालिकाको स्थानीय स्काउट कार्यक्रमको मंगलबार उद्घाटनपछि उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री तामाङले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न सरकारले प्रयास गरिरहेको बताउनुभएको छ । खोप ल्याउने क्रम जारी रहेको भन्दै उहाँले उमेर समूह अनुसार क्रमशः खोप दिदैँ जाने जानकारी दिनुभयो । दोस्रो मात्रा लगाउन बाँकी रहेकाहरुको हकमा पनि छिट्टै खोप ल्याएर दिइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामी खोप छिट्टै ल्याउँदैछौ । खोपहरु आउनेछ । हामी धेरै पहलकदमी गरिरहेको छौँ । क्रमैसँग सबैलाई खोप लगाइनेछ । खोप सुनिश्चित गर्नेछौँ । नेपाली जनताको जीवन रक्षाका लागि मैले गर्नुपर्ने हरतरहको प्रयत्न गर्नेछु । खोप जति आउँछ त्यसलाई क्रमैसँग उमेर समूहलाई ध्यानमा राखेर गरिरहेका छौँ । बाँकी रहेकाहरुका लागि पनि छिट्टै खोप ल्याएर दोस्रो डोज लगाउने कुरामा पनि हामी प्रतिबद्ध छौँ । आमनागरिकलाई खोप लगाउनका लागि आवश्यक पर्ने खोपको व्यवस्थापनका लागि हामी प्रयत्न गरिरहेका छौँ ।
वाग्मती प्रदेश स्काउटले वाग्मती प्रदेशभित्रका जिल्लाहरुमा स्थानीय स्काउट कार्यक्रम अन्तर्गत कोरोनाविरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम आजदेखि सुरुवात गरेको छ । कोरोना भाइरसबाट बच्नका लागि जनस्वास्थ्यको मापदण्ड अपनाउने सन्दर्भमा स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सुचना तथा जानकारीहरु बजाउँदै टोल–टोलमा मोटरसाइकलमार्फत् सूचना दिने अभियानका संयोजक सुदर्शन बजगाँईले बताउनुभयो । उहाँले आगामी १५ दिनसम्म कार्यक्रम सञ्चालन गर्ने र प्रभावकारिता हेरेर थप गर्ने जानकारी दिनुभयो ।

























