काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि ६० देखि ६४ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । सरकारले आजदेखि देशभर कोरोनाविरुद्ध दुईदिने खोप अभियान चलाउने भएको हो । नेपाललाई चीनबाट अनुदानमा प्राप्त भएको भेरोसिल खोप उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ र उपत्यकाबाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई पहिलो मात्रा लगाउन लागिएको हो ।
सुरुमा ६० देखि ६५ वर्ष उमेरका सबै व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाउने भनिएकोमा खोप लगाउनेहरुको संख्या बढ्न सक्ने अनुमान गर्दै उपत्यकामा ६० देखि ६४ र उपत्यकाबाहिर ६२ देखि ६४ वर्ष उमेर समूह छनोट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउन खोप केन्द्रमा जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज वा सम्बन्धित वडाको सिफारिस लिएर जानुपर्ने जनाइएको छ ।
त्यसैगरी भक्तपुर नगरपालिकाले कोरोना भाइरसविरुद्ध चीनले नेपाललाई उपलब्ध गराएको भेरोसेल खोपको पहिलो मात्रा लगाउन ६० देखि ६४ वर्ष उमेर समूहका सम्पूर्ण नागरिकहरुलाई आग्रह गरेको छ । आफू बसोबास गर्ने वडा नजिकको खोप केन्द्रमा गई स्वास्थ्य मापदण्डको पालना गरी खोप लगाउन आग्रह गरेको हो । भक्तपुर नगरपालिकाका १० वटै वडामा जेठ २५ र २६ गते खोप लगाइने जनाइएको छ । खोप मङ्गलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म लगाउने समयतालिका निर्धारण गरिएको छ ।
भक्तपुर नगरपालिकाले १ वडामा भक्तपुर बहुमुखी क्याम्पस (दुधपाटी), २ वडामा जनज्योति पुस्तकालय (नःपुखु), वडा ३ मा पद्म स्कुलमा खोप दिने व्यवस्थापन गरिएको छ भने त्यस्तै ४ वडामा तालाक्व, ५ वडामा भने वडा कार्यालयमै, ६ वडामा ख्वप कलेज (देकोचा), ७ वडामा महेश्वरी मन्दिर परिसर, ८ वडामा ख्वप इन्जिनियरिङ कलेल (लिवाली), ९ वडामा दत्तात्रय आधारभूत विद्यालय र १० वडामा भने बक्सिङ प्रशिक्षण हल (कमलविनायकमा) खोप केन्द्रहरुको स्थापना गरिएको छ ।
त्यसैगरी ललितपुर महानगरपालिकाले २५ र २६ गते नगरवासीलाई चिनियाँ खोप लगाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई दुई दिन खोप लगाउने तयारी गरिएको छ ।
महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लगाइएको खोप केन्द्रमा नै यसपटक पनि खोप केन्द्र सञ्चालन गर्ने भएको प्रवक्ता महर्जनले बताउनुभयो। प्रवक्ता महर्जनले आफूलाई पायक पर्ने जुनसुकै खोप केन्द्रमा गई मंगलबार र बुधबार खोप लगाउन सकिने जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकाको खोप तालिका




























