काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सरकार तथा आफ्नो पहिलो प्राथमिकता भनेको नेपाली जनतालाई कोरोना कहरबाट मुक्ति दिनु रहेको बताउनुभएको छ । आज आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले आफू नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आएको बताउनुभयो । सरकारले कोरोना कहरबाट बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनमा दिएको उहाँले जानकारी दिनुभयो ।
आम नेपाली नागरिकलाई बचाउने कुरा सबैभन्दा ठूलो भएकाले अकालमै कोही नेपालीको ज्यान जान नदिने बताउनुभएको छ । उहाँले सबै नेपालीको जीवन रक्षा पहिलो प्राथमिकतामा राखेर काम अघि बढाउने बताउनुभयो । वीर अस्पताललाई कोभिड नियन्त्रणको केन्द्रीय अस्पतालको रुपमा विस्तार गरिसकेको र ७ वटै प्रदेशमा कोभिड नियन्त्रण अस्पताल विस्तार गर्ने तयारीमा मन्त्रालय लागेको जानकारी उहाँले दिनुभयो । उहाँले कोरोना भाइरस परीक्षणको दायरा फराकिलो बनाएको र आवश्यक सामग्री पुग्ने गरी संक्रमण रोक्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
कोभिड खोप ल्याउनेमै सरकारले सबै प्रयास जारी राखेको जानकारी दिनुहुँदै स्वास्थ्यमन्त्री तामाङले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न सबैलाई अपील गर्नुभयो ।
स्वास्थ्यका सबै क्षेत्रमा सुधार गर्न सरकार लागिपरेको जानकारी दिनुहुँदै स्वास्थ्यमन्त्री तामाङले तेस्रो लहरको कोभिडको सामना गर्न पनि सरकारले तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले आमनागरिकको स्वास्थ्यमा सहज पहुँच बढाउनेगरी काम भइरहेको बताउनुभयो । स्वास्थ्य विमालाई नागरिकको सहज पहुँचमा पुर्याउन पनि काम गरिने उहाँले बताउनुभयो ।
आगामी दिनमा सम्भव भएसम्म जनताको स्वास्थ्य उपचार निःशुल्क गर्नेबारेमा आवश्यक अध्ययन गरिने मन्त्री तामाङले जानकारी दिनुभयो । उहाँले नागरिकलाई बचाउनु नै प्रमुख काम रहेकाले सरकारले अभिभावकको रुपमा त्यो काम गर्ने दृढता समेत व्यक्त गर्नुभयो । मन्त्रालयबाट हुने हरेक काम पारदर्शीरुपमा गरिने हुँदा सबैलाई विश्वस्त रहन आग्रह गर्नुभयो ।
मन्त्री तामाङले पत्रकार सम्मेलन मार्फत आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गर्नुभएको छ । सार्वजनिक पद धारण गर्ने सबैले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । त्यसबारेमा कानुन बनाएरै अघि बढ्न आवश्यक रहेको उहाँले जानकारी दिनुभयो ।

























