काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गर्नुभएको छ । उहाँले नेपाल सुरक्षित नहुँदासम्म भारत पनि कोरोनाको महामारीबाट जोगिन नसक्ने तथ्य बुझ्न भारतका प्रधानमन्त्री मोदीलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाललाई अलग राखेर भारतमा मात्र कोरोना भाइरस महामारी नियन्त्रण हुन नसक्ने बीबीसी हिन्दीलाई दिएको अन्तर्वार्तामा बताउनुभएको छ ।
नेपाल र भारतबीचको सम्बन्ध अरु देशको जस्तो नभएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई खुला सिमानासहितको छिमेकी र मित्रराष्ट्रको हैसियतमा भारतले नेपाललाई खोपको प्राथमिकतमा अन्य देशजस्तो व्यवहार गर्न नहुनेमा जोड दिनुभयो । उहाँले सबै कुरालाई ध्यानमा राखेर मोदीजीले नेपाललाई सहयोग गर्नुपर्ने विचार राख्नुभयो ।
नेपाल भारतबीचको सम्बन्ध चिली र अर्जेन्टिनासँगको जस्तो नभएको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भारतमा मात्र नियन्त्रण गर्छु भनेर हुँदैन, नेपालमा पनि नियन्त्रण हुनुपर्छ । किनभने दुवै मुलुकबीच खुला सिमाना छ । बोर्डर सिल गरे पनि मान्छेहरु लुकिछिपी आवतजावत गर्छन् ।’